कोरोना संक्रमण रोक्न मुस्ताङ पनि तातियो


पछिल्लो समय विश्वकै चिन्ताको बिषय बनेको नोवल कोरोना भाईरस (कोभिड–१९ ) संक्रमण रोक्न हिमाली जिल्ला मुस्ताङमा पनि तातिएको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको बढी मात्रामा आगमन हुने भएकाले यसको उच्चसर्तकता अपनाउन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लामा कोरोना भित्रिन नदिन रणनितिक आधार तयार पारेका छन् । जिल्लाका ५ वटै गाउँपालिकाका जनप्रतिनिधि र विभिन्न सरोकारवाला निकाय सम्मिलित बैठकले ३ बुँदे कोरोना नियन्त्रण गर्ने निर्णय गरेका छन् ।
बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कोरोना भाईरस नियन्त्रण गर्न एक डीआरआरटी टिम गठन गरेको हो ।

यस्तै बैठकले जिल्लाको लोमान्थाङ,घाँसा,मुक्तिनाथ र जोमसोम विमानस्थलमा कोरोना हेल्थ डेस्क राख्ने निर्णय गरेको छ । यसका लागि स्थानीय तह ,सुरक्षा निकाय ,स्वास्थ्यकर्मी लगायतको टोली खटिने प्रजिअ वेदप्रसाद अर्यालले जानकारी दिए । यस्तै ,५ वटै पालिकामा नागरिक सचेतना गर्ने र औषधिको अभाव हुन नदिने जनाईएको छ ।


प्रदेश सांसद महेन्द्रबहादुर थकालीले कोरोना भाईरस नियन्त्रण गर्न सरोकारवाला सचेत हुनु पर्ने बताए । उनले कोरोनाका लागि चाहिने जुनसुकै पुर्वाधार निर्माण गर्न आफ्नो प्रयास रहने जनाए । जिसस उपप्रमुख राजेन्द्र शेरचनले खुला सिमानाका कारण भारतिय पर्यटकबाट कोरोना फैलिने संम्भावना रहेको जनाउदै यसका लागि संम्वन्धित स्थानमा निगरानी बढाईनु पर्ने उल्लेख गरे ।


प्रजिअ वेदप्रसाद अर्यालले कोरोना रोकथामका लागि जिल्ला स्तरीय डीआरआरटी टिम बनेको र यसले सबै कार्य गर्ने बताए । उनले टीमले कोरोना भाईरस रोकथामका लागि भएका प्रयासको मुल्याङ्कन गर्ने उल्लेख गरे ।

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले कोरोना भाईरसबाट जोगिन बिज्ञप्ती जारी गरेर जिल्लाबासीलाई सचेत गराएको थियो । कोरोना रोकथामका लागि भएको कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले कोरोना संम्वन्धि प्रस्तुतीकरण गरेका थिए ।