प्रेस संगठन कास्कीका कार्यसमिति सदस्य तथा रेडियो पश्चिम पोखराका स्टेसन म्यानेजर मोतीसागर अधिकारीलाई पितृशोक परेको छ । अधिकारीका पिता दुर्गादत्त अधिकारीको सोमबार साँझ ७६ वर्षको उमेरमा निधन भएको छ ।
पोस्टेड तथा दम रोगबाट पीडित अधिकारीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । पोखरा २५ हेम्जा सुइखेतका अधिकारीको मंगलबार हेम्जास्थित सेतीनदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ ।
स्वर्गीय अधिकारी कम्युनिस्ट पार्टीमा आवद्ध भएर पञ्चायती निरंकुसता विरुद्धको आन्दोलनमा सक्रिय भएका थिए । उनी २०४३ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तल्कालीन नेकपा मालेबाट जनपक्षीय उम्मेदवार भएर साविक धिताल गाउँ पञ्चायतको वडा सदस्यमा निर्वाचित भएका थिए । उनको अन्त्येष्टीमा नेकपा जिल्ला कमिटी सदस्य शोभाकर भण्डारी र महानगर कमिटीका अध्यक्ष दीपक पौडेलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । स्वर्गीय अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
यसैबीच प्रेस संगठन कास्कीले एक शोक विज्ञप्ति जारी गरी संगठनका जिल्ला कार्यसमिति सदस्य मोतीसागर अधिकारीका पिता दुर्गादत्त अधिकारीको निधन भएकोमा दुख वक्त गरेको छ । प्रेस संगठन कास्कीका संयोजक माधव बराल र सहसंयोजक सन्देश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा अधिकारीको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गरिएको छ ।




