सोसल पब्लिक एबाकस च्याम्पियन, प्राञ्जल सम्मानित

माइन्ड टेक पोखराले गण्डकी प्रदेशमै पहिलो पटक अन्तरविद्यालय एबाकस प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा च्याम्पियन सोसल पब्लिक स्कुल, फस्ट रनर अप डायमन्ड मावि र सेकेन्ड रनरअप सृजना मावि बने । विजयीले ट्रफी र मेडल पाएका छन् ।

प्रतियोगितामा १० विद्यालय सहभागी थिए । माइन्ड टेक पोखराले ३ वर्षअघि देखि एबाकस शिक्षण गर्दै आएको छ । हाल १० विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । एबाकस पढिरहेका विद्यालयबाट तहगत रुपमा छानिएका १ देखि ७ कक्षासम्मका विद्यार्थीबीच विभिन्न तहमा प्रतियोगिता भएको हो । कार्यक्रममा संस्थाको उन्नयनका लागि योगदान गरेकोमा प्राञ्जललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले यस्ता खालका कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा योगदान गर्ने बताए । उनले अबको शिक्षा प्रयोगात्मक र व्यवहारिक हुनुपर्नेमा उनले जोड दिए ।

पहिलो पटक एबाकस सञ्चालन गरेको विद्यालय डायमन्ड माविका संस्थापक तथा निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा एबाकसका मुख्य प्रशिक्षक गौतम चौधरी, सम्मानित व्यक्तित्व प्राञ्जल, प्याब्सन कास्की अध्यक्ष प्रेम शर्मा, युनिप्स अध्यक्ष शान्तबहादुर गुरुङ, प्याब्सनका केन्द्रीय सल्लाहकार डोलराज पाण्डे, माइन्ड टेक पोखराका प्रबन्ध निर्देशक राम क्षत्री लगायतले बोलेका थिए ।