कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय २७ पुगेको छ । चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ ।
बाँकी ७ सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये ५ हजार २ सय ६४ जनाको अवस्था गम्भीर रहेको बताइन्छ भने ५८ हजार ६ सय चिनियाँ भने उपचारपछि ठीक भएका छन् ।
इटालीमा पनि यसले महामारीको रुप लिएको छ । त्यहाँ ३ सय ६६ जनाको मृत्यु भएको छ । सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । उपचारारत ६ हजार ३ सय ८७ मध्ये ६ सय ५० जना सिकिस्त बिरामी छन् ।
इरानमा कोरोनाका कारण १ सय ४९ जनाको मृत्यु भएको छ । ६ हजार ५ सय ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
दक्षिण कोरियामा थप २ सय ३७ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ३ सय १३ पुगेको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण दर कम हुँदै गए पनि अन्यत्र फैलने क्रम उच्च भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कोरोना फैलिने दर दक्षिण कोरिया, इटाली, इरान लगायतका मुलुकमा बढिरहेको छ ।
कोरोना भाइरसबाट अमेरिकामा २२ जनाको मृत्यु भएको छ भने फ्रान्समा थप तीन जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । अहिलेसम्म १ सय ४ वटा मुलुकमा कोरोना भाइरस देखिदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।




