पोखरा २८ मा भलिबल र ठेलो प्रतियोगिता सुरु

मनकामना युवा क्लब पोखरा २८ माझठानाको आयोजनामा आइतबारबाट वडा स्तरीय भलिबल र ठेलो प्रतियोगिता सुरु भएको छ ।

थमन परियार स्मृति खेल मैदानमा भएको प्रतियोगितामा अहिले पोखरा २८ मा रहेका साबिक कालिका र माझठानाका वडाका टिम सहभागी छन् । आइतबार भएको खेलबाट साबिक माझठानाका वडा नं. ५, ६, ७, ८ र ९ र साबिक कालिका १ सेमिफाइनल प्रवेश गरेका छन् ।

भलिबल प्रतियोगिताका सेमिफाइनल र फाइनल र ठेलो प्रतियोगिता सोमबार हुने आयोजक मनकामनाका अध्यक्ष विकल केसीले जानकारी दिए । फुटबल प्रतियोगितामा ११ टिम सहभागी छन् ।

नारी दिवस र फागुपूर्णिमाको अवसरमा ‘समाज रुपान्तरणका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिता पोखरा २८ का अध्यक्ष निर्मल दियालीले उद्घाटन गरे । उनले वडाको खेलकुद विकास र खेलाडी उत्पादनका लागि यथाशक्य पहल गर्न तयार रहेको बताए । खेलकुदका माध्यमबाट शारीरिक तन्दुरुस्ती र देशको समेत इज्जत बढ्ने भएकाले विद्यालय र स्थानीय स्तरमै खेलकुदका गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

फुटबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले प्रमाणपत्रका साथमा क्रमश १५
हजारको खसी, ९ हजारको बोका र २ भाले पाउने छन् ।

कार्यक्रममा समाजसेवी मीनबहादुर नेपाली र क्लबका सदस्य समीर तिमिल्सिनाले पनि बोलेका थिए ।