बालुवा चाल्ने महिलासँग महिला दिवस

अखिल नेपाल महिला संघ कास्कीले रामघाटमा बालुवा चाल्ने महिलासँग श्रमिक महिला दिवस मनाएको छ । १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसर संघले ‘८ मार्च र महिलाको अवस्था’ विषयक प्रवचन गोष्ठीसमेत गरेको छ ।

कार्यक्रममा बालुवा चाल्ने महिलालाई महिला अधिकारका बारेमा सचेतना दिनुका साथै कोरोना भाइरसबाट जोगिनका लागि मास्क वितरणसमेत गरिएको छ । गण्डकी प्रदेशसभा सदस्यहरु मित्रकुमारी गुरुङ सुवेदी र मीना गुरुङ, पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ लगायतले श्रमिक महिलालाई फलफूल, जुस बिस्कुट वितरण गरे ।

गोष्ठीमा नेकपा केन्द्रीय सदस्य सीता गिरी ओलीले राज्यले गरेका नीतिगत व्यवस्था र संविधानको भावना अनुसार व्यवहारमा महिलाको सहभागिता सुनिश्चित हुन नसकेको बताइन् । उनले राज्यका कार्यकारी र नेतृत्व तहमा महिलाको सहभागिता बढाउन महिलाले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उल्लेख गरिन् ।

उनले भनिन्, ‘पार्टीका कमिटीमा महिलाको ३३ प्रतिशत सहभागिता छैन भनेर मुद्दा हाले कमिटी खारेज हुन्छ ।’ उनले महिलाले घरमा गरेको कामको गणना, पैतृक सम्पत्तिमा समान अधिकार, संविधानले गरेको व्यवस्था व्यवहारका कार्यान्वयन नगरी महिलाको अवस्था नसुध्रिने औंल्याइन् ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले महिलामाथि शोषण, उत्पीडन, अन्याय, हिंसा भएको ठाउँमा अनेमसंघ पुग्नुपर्ने बताए । उनले गण्डकी प्रदेश र स्थानीय सरकारले महिलाको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहँुच सुनिश्चित गर्नमा ध्यान दिनुपर्ने विचार राखे । प्रदेश सभाका सदस्य प्रभा कोइरालाले पुरुषको समेत सहभागितामा लैंगिक समानता कायम गर्न सकिने औंल्याइन् ।

नेकपा गण्डकी प्रदेश कमिटी सदस्य तेजकुमारी पौडेलले पार्टीमा महिलाको सहभागितामा गम्भीर प्रश्न उठेको बताइन् । नेकपा गण्डकी प्रदेश कमिटी सदस्य सोमती गुरुङले महिलाले पार्टीभित्र अवसर र जिम्मेवारी पाउनुपर्ने माग गरिन्

‘समानताको पुस्ता, अन्त्य गरौं हिंसा विभेद र असमानता’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेकपा पोखरा महानगर कमिटी अध्यक्ष दीपक पौडेल, अनेमसंघ क्रान्तिकारी कास्की अध्यक्ष कल्पना पाण्डे, अनेमसंघ कास्की उपाध्यक्ष कल्पना बराल लगायतले बोलेका थिए ।