गोदावरी नगरपालिकाले ५ वटा बस सञ्चालन गर्ने

गोदावरी नगरपालिकाले छिट्टै ५ वटा नगर बस सञ्चालन गर्ने भएको छ ।

चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो ।

कार्यालयबाट पर रहेको स्थान वडा नं– १ गोदामचौर, वडा नं २ विशङ्खु, वडा न। ७ देवीचौर, वडा नं ८ डुकुछाप र वडा नं ९ छम्पी हुँदै बस घुमाएर जनतालाई सुविधा दिइने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

उनले भने, “बस खरिदका लागि हामीले यही फागुन २ गतेको छैठौँ नगरसभाको निर्णयमा रु दुई करोड रकम खर्च गर्ने योजना बनाएका छौँ ।” नगरपालिकाले पहिलो पटक आफ्नो लगानीमा उक्त बस खरिद गर्न लागेको महर्जनले बताए ।

नगरपालिकाले बस खरिद गरी सुविधा पुर्‍याएसँगै कार्यालयमा काम लिन आउन अपायक भयो भन्ने जनतालाई राहत पुग्ने वडा नं ३ का अध्यक्ष बालमुकुन्द घिमिरेले बताएका छन् ।