सदाशिव हरिहर मन्दिर पोखरा १७ सीतापाइलाको अध्यक्षमा नगेन्द्र शर्मा भण्डारी निर्वाचित भएका छन् ।
शनिबार भएको मन्दिरको साधारणसभा तथा अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको हो । समितिमा उपाध्यक्ष देवीलाल भण्डारी, सचिव नेत्रलाल भण्डारी, कोषाध्यक्ष इशारा थापा र सहसचिव कलावती भण्डारी छन् ।
१ सदस्यीयपछि मनोनयन गर्ने गरी चुनिएको समितिका सदस्यमा सिबिन्द्रराज भण्डारी, लक्षुमण थापा क्षेत्री, अनिषा बराल, सूर्य थापा र दिलमाया भण्डारी रहेको निर्वाचन समिति सदस्य प्रेम थापाले जानकारी दिए । नयाँ समिति चयनका लागि टीकाराम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले वडामा पर्यटन विकासको बृहत सम्भावना रहेको औंल्याए । उनले भने, ‘विभिन्न क्षेत्रको डिपिआर बनाएर योजनावद्ध विकासका लागि पहल भइरहेको छ । गुप्तेश्वर गुफा, डेभिजफल जस्तै महतगौडा, रातोपैह्रा क्षेत्रमा पनि पर्यटकीय सम्भावना छ ।’
पोखरा महानगरकी कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले स्थानीय सरकार जनताका आकांक्षालाई समेटेर पूर्वाधार निर्माण र पर्यटकीय विकासमा लागेको बताइन् । नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगाना र कांग्रेस पोखरा १७ सभापति देवीराज आचार्यले रातोपैह्रादेखि महतगौडा हुँदै दोबिल्लासम्मको क्षेत्रका पर्यटकीय सम्भावना खोज्नुपर्ने बताए ।

मन्दिर सञ्चालक समितिका कार्यवाहक अध्यक्ष कर्णखर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु वेदनाथ भण्डारी र रघुनाथ भण्डारी, समाजसेवी शिवराम भण्डारी, मेलमिलापकर्ता सविता सुवेदी भण्डारी, मन्दिरका सचिव सीता काफ्ले भण्डारी र सदस्य शंकर आचार्यले बोलेका थिए ।
साधारणसभामा कोषाध्यक्ष विक्रम भण्डारीले आर्थिक प्रतिवेदन र सहसचिव रवि भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नवनिर्वाचित अध्यक्ष नगेन्द्रले सरोकारवाला सबैको सल्लाह, सुझावलाई समेटेर मन्दिरलाई पवित्र धामका रुपमा विकास गर्ने प्रतिवद्धता गरे । उनले भने, ‘मन्दिरलाई यस क्षेत्रमा पवित्र धामको रुपमा चिनाउने योजना छ । सके सुझार्छु, नसके पनि कमसेकम बिगार्दिनँ ।’




