टाइब्रेकरमा आयोजक सहारा क्लबलाई हराउँदै नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिबार निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटमा दुवै टिमबाट गोल हुन सकेन । टाइब्रेकरमा पुलिसले ४–२ का जित निकाल्यो ।
खेलको ७५ औं मिनेटमा पुलिसका भरत शाहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । इन्जुरी समयको अन्तिम मिनेट सम्हालिन नसक्दा सहारासँग बराबरी हुनुप¥यो । ९० मिनेटपछि इन्जुरी समयको चौंथो मिनेटमा सहाराका अजय श्रेष्ठले गोल गर्दै बराबरीमा रोकेका थिए ।
थपिएको ३० मिनेटमा दुवै टिमले गोल गर्ने एकपछि अर्को प्रयास विफल रहृयो । पुलिसका कप्तान भोला सिलवालले खेलको अन्तिम समयमा रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।
टाइब्रेकरमा पुलिसका भरत शाह, सौजन याख्खा राई, हेम तामाङ र सुमन सुवेदीले गोल गरे । सहाराका लागि आशिष गुरुङ र अजय श्रेष्ठले गोल गर्न सके ।
खेलमा पुलिसका गोलरक्षक रोशन खड्का म्याद अफ द म्याच घोषित हुँदै ५ हजार रुपैयाँ पाए ।
सहाराका प्रशिक्षक विष्णु गुरुङले आफू आफ्नो टिमप्रति निकै सन्तुष्टि भएको बताउँदै पेनाल्टी सुटआउटमा प्राविधिक रुपमा नमिलेका कारण हार्नु परेको जनाए ।
पुलिसले गान्तोक सिटी क्लब भारत र थ्रीस्टार क्लबबीच हुने क्वाटरफाइनलको विजेतासँग फागुन २८ मा सेमिफाइनल खेल्नेछ ।
प्रतियोगिताअन्तर्गत आइतबार मनाङमर्स्याङ्दी क्लब र झापा–११ बीच खेल हुनेछ ।




