शीतलको वार्षिकोत्सवमा रक्तदान र अक्षयकोष

पोखरा १७ छोरेपाटनमा रहेको शीतल बचत तथा ऋण सहकारी पोखरा १७ ले विभिन्न कार्यक्रम गरी ११ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित खुला रक्तदानमा ३८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा सहकारीले शुक्रराज माविलाई अक्षयकोषका लागि सहयोग गरेको छ । पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शीतल छात्रवृत्ति अक्षयकोषका लागि शुक्रराजका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरहरि बराललाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । समारोहमा गुप्तेश्वर सिर्जनशील मञ्चलाई सहकारीले सम्मान गरेको थियो । बिहीबार सहकारीले सरसफाइ गरेको थियो ।

पोखरा १७ का अध्यक्ष अधिकारीले जनताको अपेक्षा अनुरुप तीनै तहका सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताए । उनले नेपालीको जीवनस्तर उकास्न र आर्थिक सशक्तीकरणका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण भएकाले आफ्नो भूमिका र दायित्व निर्वाह गर्न उनले आग्रह गरे ।

सहकारीका अध्यक्ष ईश्वरीप्रसाद लम्सालले सहकारी सेयर सदस्यको आर्थिक स्तर उकास्ने कार्यसहित मानवीय सेवा र सामाजिक दायित्व निर्वाहमा समेत सक्रिय रहेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखा अध्यक्ष झपिन्द्रराज रेग्मी, गुप्तेश्वर क्याम्पसका अध्यक्ष प्राडा टंकराज अधिकारी, शुक्रराज माविका अध्यक्ष नरहरि बराल, छोरेपाटन टोल सुधार समिति अध्यक्ष चूडामणि बराल, बेलाघारी टोल विकास संस्थाका अध्यक्ष वेदनाथ सुवेदी, डेबिजफल सहकारीका अध्यक्ष राजन अधिकारी, सहकारीका अध्यक्ष युवकराज लामिछाने र सचिव नारायणप्रसाद शर्मा अधिकारीले बोलेका थिए ।