टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ की मधु श्रेष्ठ रहेकी छन्।मोटरसाइकल चालक श्रीमान् ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घाइते हिमालको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको बताएका छन् ।

टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।