‘महिला हिंसा न्यूनीकरण गर्न पुरुषको ऐक्यवद्धता जरुरी’

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना हुँदै छन् । नेपालमा महिला हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । यसै सन्दर्भमा बिहीबार पोखरामा भएको एक कार्यक्रमका वक्ताहरुले महिला हिंसा कम गर्न पुरुषको ऐक्यवद्धता जरुरी हुने औंल्याएका छन् ।

पोखरा महानगरपालिकाको सहयोग, पोखरा १७ वडा कार्यालयको व्यवस्थापन र घारीकुलो आमा समूहको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा पोखरा १७ का करिब ७० जना सहभागी थिए ।

कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले महिला, पुरुषको सहकार्यले नै सभ्यता र समाजको विकास भएको बताए । उनले विगतमा डेंगु रोगबारे वडाले सचेतनामूलक कार्यक्रम गरेको स्मरण गर्दै अब कोरोनाबारे सहज हुन आग्रह गरे ।

पोखरा महानगरका कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले महिला हिंसा कम गर्न पुरुषको साथ र महिलाको चेतनालाई सँगसँग अघि लैजानुपर्ने बताइन् । उनले नेपाली पहिलाले शताब्दिऔंदेखि भोग्दै आएको विभेद कानुनले हटाए पनि समाजबाट हट्न नसकेको औैल्याइन् । उनले भनिन्, ‘हाम्रा केही संस्कार विकृत छन्, तिनलाई छाडेर राम्रा संस्कारलाई अबलम्बन गर्नुपर्छ ।’

नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगानाले हिंसा न्यूनीकरणका अभियानलाई पार्टीभित्र पनि अभियानकै रुपमा लैजाने प्रतिवद्धता गरे । कांग्रेस पोखरा १७ सभापति देवराज आचार्यले परिवारमा महिलाले अनेक जिम्मेवारी वहन गर्नुपर्ने भएकाले उनीहरुलाई शसक्तीकरण गरी अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महिला हिंसाका विभिन्न रुप, हिंसाबाट पर्ने असर र निराकरणका उपायबारे प्रकाश पारिन् । कार्यक्रममा रीता शर्मा र छोरेपाटन चौकी इन्चार्ज सुमन निउरेले पनि सहजीकरण गरेका थिए ।

घारीकुलो आमा समूहका अध्यक्ष धनुमाया कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तारा सेवा, आमा समूहका सचिव दुर्गा पौडेल लगायतले बोलेका थिए ।