गाउँपालिका अध्यक्षमाथि भ्रष्टाचार मुद्दा दायर

जाजरकोटस्थित जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले २५ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अध्यक्ष केसी र सोही गाउँपालिका वडा नम्बर ५ वडाध्यक्ष राजबहादुर शाहीले एकआपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गेनिङ गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

कमिसनका लागि केसी र शाहीले पटकपटक धम्की दिएको समेत अख्तियारले उल्लेख गरेको छ। अख्तियारको अनुसन्धानको क्रममा नगद लिएको, बैंक खातामा जम्मा गर्न, विभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाएर २५ लाख ५० हजार घुस लिएको खुलेको थियो।

अख्तियारको आरोपपत्रमा केसी र शाहीसँग बिगो २५ लाख ५० हजार भराउन र कैद सजाय माग गर्दै उजुरी दर्ता गरिएको छ।

गाउँपालिका अध्यक्ष केसी तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनी विजयी भएका थिए।