आयोजक सहारा क्लब १८ औं संस्करणको आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन क्लब बिग्रेड ब्वाईजलाई ३–२ गोलले पन्छाउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अतिरिक्त समयमा सहाराका त्रिदेव गुरुङको उत्कृष्ट हेडिङ गोलमार्फत विजयी भएको हो । सहारासंग पराजित भएपछि पहिलो पटक पोखरा रंगशाला छिरेको बिग्रेड ब्वाईज भने घर फर्किन बाध्य भयो । सहाराले अब नेपाल पुलिस क्लबसँग भिड्नेछ ।
बिग्रेड ब्वाईज क्लब पहिलो सहभागितामै अविष्मरणीय बनाउने ध्याउन्नमा थियो । उसको उद्घाटन खेलमै सुखद् शुरुवात गर्ने योजना अतिरिक्त समयमा आएर रोकिन पुग्यो । कमब्याक गर्दै उत्कृष्ट पुनरागमन गरेको सहाराले बराबरी गोल फर्काएको खुशीयाली भने एक मिनेट भन्दा बढी टिकाउन सकेन् ।
अनिल गुरुङले प्रहारलाई सहारा क्लबको डिफेन्सबाट रिफ्लेक्ट बललाई गोलकिपरले पन्च गर्ने प्रयास गरे ।
एक हातले पञ्च गरेपनि पेनाल्टी बक्सभित्र खसेको बललाई ६२ औंं मिनेट लेफ्ट विङ्गर विजय गुरुङले सेकेण्डबार च्याप्दै गोल गरेपछि सहाराको क्र्वाटरफाईनल सम्भावना कमजोर हुने संकेत देखिएको थियो । पहिलो हाफ गोलरहित टुंगियो ।
दोस्रो हाफमा गोल सम्भव हुन पुग्यो । ५८ औं मिनेटमा बिग्रेड ब्वाईजले गोलको खडेरी तोड्यो । अफ्रिकन खेलाडी कजिम ए. बुसारीको पासमा सहाराका खेलाडीको मार्किङमा नरहेका राजेश परियारले ‘क्लिनिकल्ली फिनिसिङ’ गर्दै अग्रता दिलाए ।
उनको अग्रता पनि लामो समय टिकाउन भने बिग्रेड ब्वाईज असमर्थ बन्यो । ६१ औं मिनेटमा सहाराले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै बराबरी गोल फर्काउँदै आयोजकको आशा फेरी जाग्यो ।

कमल थापाले हानेको फ्रिकिकलाई अफ्रिकन खेलाडी सेई उरिचले हानेको हेडिङ गोलमा परिणत भएपछि सहारा खेलमा फर्कियो ।
१० खेलाडीमा समेटिएको आयोजकले दुई पटक पछिपरेको अवस्थामा खेलमा फर्कियो । २६ मिनेटमा किरण रायमाझीले रातो कार्ड खाँदै बाहिरिएपछि सहाराले १० खेलाडीमा आफ्नो अस्तित्वलाई बचाईराख्न कडा संघर्ष गरिरह्यो ।
७८ औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै सहारालाई फेरी एक पटक आशालाई जोगाई राखे । उरिचको लामो पासलाई सदुपयोग गर्दै गोल गरेपछि सहाराले खेलमा बराबरीको कमब्याक गर्यो । त्यसभन्दा अघि बिग्रेड ब्वाईजको महत्वपूर्ण अवसर खेर गयो । बुसारीको प्रहार फष्टबारमा लागेर रिवाउण्ड हुन पुग्यो ।
निर्धारीत समय २–२ गोलको स्थितिमा टुंगिएको थियो । १५ मिनेटको खेल थप गरियो । थपिएको १५ मिनेटको पहिलो हाफ गोलरहितमा टुंगियो ।
दोस्रो हाफको ५ मिनेट बितेपछि सहाराले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै निर्णायक गोल निकाल्यो । लङ फ्रिकिक बललाई त्रिदेवले गरेको हेडिङ बिग्रेड ब्वाईजका गोलकिपर अगाडि बढ्दा बचाउ गर्ने सामथ्र्य राख्नै सकेनन्, अन्तत बलले जाली चुम्यो ।
आयोजकले खुशीयाली मनाउँदा बिग्रेड ब्वाईजले पहिलो सहभागितालाई अविस्मरणीय बनाउनबाट चुक्यो । खेलमा २ गोल गरेका त्रिदेव म्यान अफ दि म्याच घोषित भए ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित गोल्डकपको शुक्रबारको खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लबले झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।
सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेल प्रतियोगितालाई सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतियोगिता उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणको कठिन परिस्थितिमा सञ्चालन हुन लागेको प्रतियोगितालाई सफल बनाउनु सबैको दायित्व रहेकामा जोड दिए ।

मुख्यमन्त्री गुरुङले आहा रारा गोल्डकपसहित गण्डकी प्रदेशमा सञ्चालन हुने अन्य प्रतियोगितालाई सफल बनाउन सरकारले आफ्नो तर्फबाट सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै सरकारले खेलकूद विकासलाई प्राथमिकतामा राखेको स्पष्ट पारे ।
प्रतिनिधिसभा सांसद एवं प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले सहाराले खेल माहोल बढाएकाले निरन्तर प्रायोजन गरेर सहयोग गरेको उल्लेख गरे ।
सुजललाई सम्मान
सहारा क्लबले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७६’ बाट नेपाली राष्ट्रिय फुटबलका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरेको छ ।
१८ औँ संस्करणको आहा रारा गोल्डकप उद्घाटनको अवसरमा बिहीबार उनलाई नगद ३५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको हो ।

सुजलको कप्तानीमा रहेको नेपाली यु–२३ टोलीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलको उपाधि जितेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुजललाई सम्मान गरे । यसरी सम्मानित हुने उनी तेस्रो खेलाडी हुन् ।
यसअघि भरत खवास र किरण चेम्जोङलाई क्लबले सम्मान गरिसकेको छ । खेलाडी सम्मान कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेका हुन् ।
आहारारा गोल्डकप रोकिन्न
सहारा क्लब पोखराले १८ औं आहारारा गोल्डकप नरोकिने जनाएको छ । बिहीबारदेखि शुरु भएको प्रतियोगिता चैत्र १ गते सकिंदैछ ।
कोरोना भाइरसको असरका कारण बिहीबारै राष्ट्रिय खेलकूद परिषद (राखेप) ले खेलकूद गतिविधि नगर्न निर्देशन दिएको थियो । यो निर्देशन पछि क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग स्थगित भएको छ ।
राखेपको यो निर्देशनपछि आहारारा गोल्डकप स्थगित हुने हो कि भन्ने चिन्ता भएपछि आयोजक सहाराले प्रतियोगिता स्थगित नहुने स्पष्ट पारेको हो ।
‘आहारारा गोल्डकप राखेपकै सल्लाहमा शुरु गरिएको हो । प्रतियोगिता चैत्र १ गते सकिन्छ, शुरु गर्न भनेपछि प्रतियोगिता सञ्चालन भएको हो’, सहारा क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।
यता, जिल्ला प्रशासन कार्यालय कास्कीले पनि भेला, मेला, उत्सव र महोत्सव नगर्न बुधबार निर्देशन दिएको थियो ।
तस्वीर : सुदर्शन रञ्जित




