खेलकुद गतिविधि नगर्न निर्देशन, आहारारा गोल्डकप के होला ?

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस समाधान नभएसम्मका लागि खेलकुद गतिविधि नगर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको राखेपको बैठकले अर्को सुचना प्रकाशीत नभएसम्मका लागि सम्पूर्ण संघ संस्थाहरुलाई कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको छ ।

राखेपले विज्ञप्ति जारी गर्दै लेखेको छ,‘कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरु लगायतका भिडभाड हुने स्थलहरुलाई संक्रमण हुनसक्ने संवेदनशिल स्थलको रुपमा लिईए छ,’ विज्ञप्तिमा भनिएको छ, ‘परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।’

राखेपसँगको समन्वयमा आज मात्रै एभरेष्ट प्रिमि लिग (ईपीएल) तत्कालका लागि स्थगित भएको छ भने धरानमा चैत ३ देखि हुने तय भएको महिला लिग पनि सर्ने सम्भावना छ ।

यता, यो निर्देशन लगत्तै पोखरामा बिहीबारदेखि शुरु भैसकेको आहारारा गोल्डकप के होला भन्ने विषय मौन छ ।

राखेपले खेलकूद गतिविधि रोक्न निर्देशन दिए पनि शुरु भैसकेको प्रतियोगिता के गर्ने भन्ने विषयमा स्पष्ट पारेन ।

सहारा क्लब स्रोतका अनुसार राखेपको निर्णय आहारारा गोल्डकपका लागि होइन । ‘प्रतियोगिता १ गते सकिने भएपछि राखेपकै सल्लाहमा प्रतियोगिता शुरु गरिएको हो’, सहारा क्लबले जनाएको छ ।
यता, कास्की जिल्ला प्रशासनले पनि भेला, मेला, उत्सव, महोत्सव लगायतका कार्य नगर्न निर्देशन दिएको छ ।