कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ ।
चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिएका छन् ।
उनका अनुसार नेपाल क्रिकेट सङ्घ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो । “कोरोनाको त्रासले अहिले इपिएल स्थगित गरेका छौँ ।
स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौँ”, उनले भने । यसअघि इपिएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो ।
प्रतियोगितामा ललितपुर, काठमाडौँ किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स गरी ६ टोलीको सहभागिता हुनेभएको थियो ।
विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारण खेलकुदका प्रतियोगितालाई असर गरिरहेको छ।





