सुख्खा पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

गत सोमबार देखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक आज बिहिबार बिहान १० बजे देखि खुलेको छ । सडक निर्माणको क्रममा अचानक सुख्खा पहिरो गएकाले मुस्ताङको थासाङ गाउपालिका–४ र ३ को बीचमा पर्ने घैकु खोला आसपास करिव १५ किमी सडक पुरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ,सुरक्षा निकाय ,जनप्रतिनिधि ,स्थानीयबासीको पहलमा बुधबार देखि शर्मा गजुरमुखिको उपकरण प्रयोग गरी सडक खुलाईएको मुस्ताङ निमित्त प्रजिअ घनश्याम गौतमले जानकारी दिए । यसअघि सडक सफा गर्न अप्ठ्यारो र जोखिम भएकाले बिस्पोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाईएको थियो ।

बेनी–जोमसोम सडकखण्डका सुपरभाईजर ईन्द्रसिह शेरचनका अनुसार कठिन मेहनतका सडक खुलाइएको बताए । उनले उपकरण चलाउने थप अपरेट मगाएर सडक सफा गरी दोहोरो आउजाउ संञ्चालन भएको बताए । सुख्खा पहिरोले सडक भासिएपछि स्काभेटरसहित चालक कालिगण्डकी नदीमा खस्दा सिन्धुपाल्चोकका अर्जुन दाहालको घटना स्थलमै मृत्यु भएको थियो भने एक यात्रुबाहक बसमा क्षति पुगेको थियो ।

यसअघि सुख्खा पहिरोले सडक अवरुद्ध हुदा मुस्ताङ आउजाउ गर्ने यात्रुले सास्ती भोग्दै आएका थिए । फोटो क्याप्सनः सुख्खा पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो । तस्विर ःईन्द्रसिंह शेरचन ।