दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १५ वर्षपछि हत्याका मुख्य आरोपितलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये फरार रहेका दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी अड्डासार गर्दै दैलेख ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिवहादुर ओलीले बताएका छन् ।
जिल्ला अदालत दैलेखले २०७१ मङ्सिर २१ गते फरार भनिएका खड्कासहित चारलाई हाजिर भएका वा पक्रिएका बखत वा अवधि पुगेपछि जगाई कारवाही र किनारा गर्ने आदेश गरेसँगै फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
विसं २०६१ साउन २७ गते नौमूलेको द्वारीमा माओवादी कार्यकर्ताले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेको आरोप लागेको छ ।
लामो खोजी पछि २०६५ को वर्षायाममा नौमूले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ स्थित नेरा निमावि नजिकको जङ्गलमा पत्रकार थापाको अस्थिपञ्जर फेला परेको थियो ।






