दशनामी युवा समितिको वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

नेपाल दशनामी युवा समिति कास्कीले पोखरा १४ स्थित वात्स्यायन वृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै मंगलबार बिहान बाच्छीबुडुवा स्थित बृद्धाश्रममा स्वास्थ्य शिविर संचालन गरि वृद्धहरुको स्वास्थ्य परिक्षण गरेको हो ।

वृद्धीहरुलाई रमाईलो बनाउन नाँचगान, भजन किर्तन, नियमित व्यायाम लगाएतका कार्य गराउँदै आएको वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले बताए । उनले भने– ” सबै जना खुसी साथ बस्नुभएको छ । कतिपयका छोराछोरी वा आफन्तले थाहा पाएर यहाँ सम्पर्क पनि गर्नुभएको छ । यस्तो अवस्थामा उहाँहरुको परिवारसँग मिलन पनि गराएका छौं ।” दशनामी युवाहरु यसरी सामाजीक कार्यमा अग्रहसर रही वृद्ध-बृद्धाहरुको स्वास्थ्य परिक्षणमा सरिक भएकोमा आयोजकलाई धन्यवाद दिए।

शिविर अघि औपचारिक कार्यक्रममा बोल्दै दशनामी युवा समितिका केन्द्रिय बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सेवा नै धर्म को भनाईलाई आत्मसाथ गर्दै समाजसँग प्रत्यक्ष जोडिने यस्ता किसिमका कार्यहरुमा अग्रसर रहेकोमा कास्की समितिको प्रशंसा गरे । साथै भबिष्यमा पनि युवावर्गहरुलाई समाजप्रति उत्तरदायित्व वहन गर्दै थप कार्यक्रमहरुमा जुट्न सुझाब दिए। युवा समिति कास्कीका अध्यक्ष प्रेम गिरीले समाजसेवाका कार्यका साथमा अन्य क्षेत्रहरुमा पनि समितिले कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

१९ जना बृद्धाश्रममा आश्रीत वृद्धहरु सहित ३० जनाको स्वास्थ्य परिक्षणमा सहजीकरण समितिकै सरस्वती पुरी, अञ्जली गिरी, सुस्मिता गिरी र सिम्रन गिरीले गरेका थिए। समितिले सामान्य स्वास्थ्य समस्यामा प्रयोग गरिने औषधि, प्राथामिक उपचारका सामाग्रीहरु तथा फलफूल समेत वृद्धाश्रमलाई हस्तान्तरण गरेको थियो ।

युवा समिति कास्कीका अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष राजु गिरीले राखेका थिए भने कार्यक्रम संचालन सचिव आशिष पुरीले गरेका थिए ।