गत आईतबार मुस्ताङको जोमसोममा अचानक बिद्युत सट भई आगलागीका कारण आर्थिक धनजनको क्षती व्यवहोरेका पीडित परिवारलाई मंगलबार एक समारोहकाबीच राहत वितरण गरिएको छ ।
घरपझोङ गाउँपालिका–४ जोमसोम ,नेरेसो मुस्ताङ ,जोमसोम गाउँ समाज र स्थानीय समाजसेवीहरुको पहलमा संकलित कुल १ लाख ५ हजार ५ सय रुपैया पीडित परिवारलाई बुझाईएको नेरेसो मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले जानकारी दिए ।
समाजमा भई परिआएको विपत्का घटनाबाट पीडित बनेकालाई राहत सहयोग र सान्त्वना प्रदान गर्ने उद्देश्यले सरोकारवालाहरुले राहत संकलन गरेका थिए । संकलित आर्थिक सहयोग घरपझोङ गाउँपालिका–४ र घरपझोङ–३ पुथाङ एअरपोर्टबाट जम्मा पारिएको घरपझोङ –का वडाअध्यक्ष यामप्रसाद थकालीले बताए ।
जोमसोम गाउँका मुखिया रामप्रसाद थकालीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा वडाअध्यक्ष थकालीले घरभाडामा लिई फेन्सी पसल संञ्चालन गरेकी सोममाया ल्वागुनलाई ६० हजार , घर क्षती भएका धनी मनोज गोतामेलाई ४० हजार र अर्को सामान्य आगलागी पीडित पूर्णकला गोतामेलाई ५ हजार ५ सय रुपैया रकम हस्तान्तरण गरे । यस्तै ,नेरेसो मुस्ताङले सोही कार्यक्रममा आगलागी पीडित उक्त परिवारजनलाई जनही १५ सय सहित कम्बल,त्रिपाल,कपडा र भाडा वर्तन वितरण गरेको छ । शाखाकी मन्त्री पुष्पा शेरचनले नगद सहित उक्त राहत सामाग्री हस्तान्तरण गरेकी थिईन् ।
गत आईतबार राति बिद्युत सट भई आगलागी हुदा स्थानीय मनोज गोतामेको ४ कोठे २ तले घर पूर्ण रुपमा क्षति भएको थियो भने सोही घरमा डेरा गरी पसल संञ्चालन गरकी सोममाया ल्वागुन पसल जलेर नष्ठ भएको थियो । आगलागीबाट करिव ९५ लाखको क्षती भएको थियो ।




