ओखलढुंगाको एक सामुदायिक विद्यालयले जातीय पोशाकलाई अनिवार्य गरेको छ । खिजीदेम्बा गाउँपालिका ९ पात्ले स्थित जनता आधारभूत बिद्यालयले जातीय पहिचान संरक्षणका लागि शेर्पा जातिको पोशाकलाई अनिवार्य गरेको हो ।
विद्यालयले हप्ताको दुईदिन अनिवार्य रुपमा शेर्पा जातीको पहिचान झल्कने पोशाकलाई अनिवार्य गरेको छ । विद्यालय व्यवस्थापन समितीको निर्णयअनुसार प्रत्येक हप्ताको दुई दिन मङ्गलबार र बुधबार शेर्पा जातिको पहिचानयुक्त पोशाक अनिवार्य गरेको गरिएको हो ।
यस दिन विद्यालयमा अध्ययनरत बिद्यार्थी तथा शिक्षकहरुले अनिवार्य रुपमा शेर्पा समुदायको जातीय पोशाक लगाउनुपर्नेछ। आधुनिक समाजका कारण बालबालिकाले जातीय भेषभूषालाई विर्सन थालेको भन्दै विद्यालय तहमा जातीय पोशाकलाई अनिवार्य गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए।
उनले ब्यक्तिगत लगानीबाट यसबर्ष करिब ३ लाख ५० हजारको लागतमा पोशाक खरिद गरी वितरण गरिएको बताए ।
कक्षा एकदेखि ८ सम्म पढाई हुने उक्त बिद्यालयमा करिब १ सय जना विद्यार्थी अध्ययनरत छन् । यी मध्ये अधिकाशं बिद्यार्थीहरु शेर्पा समुदायका छन् ।





