बलात्कार आरोपी सिद्धबाबा कारागार चलान

बलात्कार अभियोगमा थुनामा राख्‍ने अदालतको आदेशलगत्तै भारत भागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा हाजिर भएका छन् ।

अदालतमा हाजिर भएका सिद्धबाबालाई आजै कारागार चलान गरिएको छ ।

गत माघ ९ गते उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश उल्ट्याउँदै थुनामा राख्‍ने आदेश दिएलगत्तै सिद्धबाबा भागेका थिए । भारतमा लुकेर बसेको करिब डेढ महिनापछि उनी मंगलबार जिल्ला अदालत सुनसरीमा हाजिर भएका हुन् ।

उच्च अदालतले आफ्नो विपक्षमा आदेश दिने अनुमान गर्दै उनी माघ ९ मा सहयोगीसहित जोगवनी नाकाबाट भारततिर फरार भएका थिए ।