कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
कोरोना भाइरस संक्रमणबाट अमेरिकाको वासिङ्टनमै थप ४ जनाको मृत्यु भएको हो।योसँगै कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको हो।
अमेरिकाको सियाटल र किङ काउन्टी जनस्वास्थ्य विभागले सोमबार पत्रकार सम्मेलन गरेर कोरोना संक्रमण हुने क्रम बढ्दै गएको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनका अनुसार अहिलेसम्म अमेरिकाको वासिङ्टनमै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको हो। त्यस्तै १८ जना संक्रमित पुष्टि भएका छन्।
अमेरिकामा पहिलोपटक शनिबार कोरोना संक्रमणबाट मानिसको मृत्यु भएको थियो। त्यसलगत्तै त्यहाँका गभर्नर जे इन्स्लीले राज्यमा संकटकाल घोषणा गरेका थिए।अमेरिकाका वासिङ्नट, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको छ।
अमेरिकाका विभिन्न १० राज्यमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ।




