नयाँ दिल्लीमा पनि भेटिए कोरोनाका बिरामी

भारतको राजधानी नयाँ दिल्लीमा पनि नोवेल कोरोना संक्रमित फेला परेको छ । भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार नयाँ दिल्लीमा एक र अर्को तलंगनामा कोरोना संक्रमित फेला परेको हो ।

नयाँ दिल्लीमा भेटिएको संक्रमित इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट आएका हुन् । उनीहरु दुबैको अवस्था स्थिर रहेको र उनीहरुलाई नजिकबाट अनुगमन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा पहिलो पटक केरलमा एक महिलामा कोरोनाको संकेत देखिएको थियो । उनीसँगै यसअघि यो भाइरसको संक्रमण देखिएका तीनैजना स्वास्थ्य लाभ गरिसकेका छन् ।

डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ ।

चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ ।