पेट्रोलमा बढाइएको ५ रुपैयाँ करमा सभामुखले गरे रूलिङ

सभामुख अग्निप्रसाद सापकोटाले पुर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ कर लगाउने मन्त्रिपरिषदको निर्णय सम्बन्धमा सरकारलाई रूलिङ गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा पूर्वाधार विकास कर लगाएको विषयमा संसदको ध्यानाकर्षण भएको बताए ।

प्रतिनिधिसभाका सोमबारको बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले जनतालाई कर लगाउने विषय संसदको अधिकार क्षेत्र भित्रको विषय भएको तर सरकारले संसदलाई छलेर पेट्रोलियम पदार्थमा लगाएको कर लगाउने काम गरेको भन्दै त्यसमा सरकारलाई रूलिङ होस् भन्दै सभामुखको ध्यानाकर्षण गराएकी थिइन् ।

गिरीले कर प्रणालीको भारमा जनता थिचिएको र ८६ प्रतिशत करको बोझ जनतामा रहेको भन्दै इन्धनमा लगाइएको दोहोरो करको विरोध गरेकी थिइन् ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैैठकले पूर्वाधार विकास करको दर परिमार्जन गर्दै पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैयाँ कर बढाउने निर्णय गरेको थियो।