न्यू ग्यालेक्सीबाट एसइई दिने विद्यार्थीको बिदाई

पोखरा महानगरपालिका वडा नं. ३, नदीपुरस्थित न्यू ग्यालेक्सी (उच्च) माविले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गरेको छ । बिदाई भएका विद्यार्थीले यसै वर्षको एसईई परीक्षामा सहभागी हुँदैछन् ।

बिदाई कार्यक्रम कक्षा ९ ले आयोजना गरेको थियो । कार्यक्रममा विविध सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले एसइईको तयारीमा रहेका विद्यार्थीहरूले अनुशासित र उच्च मनोवलका साथ अध्ययनलाई ध्यान दिनुपर्ने बताए ।

उनले हतोत्साही नभई ढुक्क भएर एसइईको परीक्षा दिन आग्रह गरे । ‘यो तपाइँहरूको शैक्षिक जीवनको सबैभन्दा महत्वपूर्ण खुड्किलो हो । त्यसैले उच्च मेहनत, मनोवलका साथ परीक्षा दिनुहोला’, डा. शर्माले आग्रह गरे ।

कार्यक्रममा विद्यालयका प्रमुख संरक्षक डा. राधेश्याम कायस्थ, डाइरेक्टर राजु कायस्थ, विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ, खेलकुद इन्चार्ज क्याप्टेन विरबहादुर गुरुङ, शिक्षक मणिराज त्रिपाठी, शिक्षक विष्णुप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

कक्षा ९ का आशिष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा निर्मल अगस्तीले स्वागत गरेका थिए भने भाइस प्रिन्सिपल राजेश भण्डारी, विद्यार्थी कृतिका अर्याल र इशा पौडेलले सञ्चालन गरेका थिए ।