समान सहभागिताबिना लैंगिक हिंसा घट्दैन : गुरुङ

पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले लंैगिक हिंसा न्यूनीकरणका लागि महिला र पुरुष दुवैको समान सहभागिता हुुनुपर्नेमा जोड दिएकी छन् । पोखरा ७ ले आइतबार आयोजना गरेको लैंगिक हिंसा विरुद्ध समसचेतना कार्यक्रममा उहाँले हिंसा महिलामाथि हुने र हिंसा गर्ने पुरुष भएकाले दुवैको समान सहभागिता बिना हिंसा न्यूनीकरण गर्न नसकिने विचार राखिन् ।

‘राष्ट्र निर्माण र विकासमा महिला पुरुषको समान सहभागिता हुनुपर्छ,’ उनले भनिन्, ‘पुरुषले महिला र महिलाले पुरुषलाई हेर्ने दृष्टिकोण सकरात्मक भएमात्रै लैंगिक हिसां न्यूनीकरण गर्न सकिन्छ ।’ उपप्रमुख गुरुङले समाजमा लैगिंक रुपमा गरिने हिंसाका घटना बढेको र त्यसमा महिला बढी पीडित रहेको बताइन् । अब लैगिंक हिंसा विरुद्धका कार्यक्रममा पुरुष र महिला दुवैको सहभागिता हुनुपर्छ भन्ने मान्यताले महानगरले लैगिंक हिंसा विरुद्ध पुरुषको ऐक्यवद्धता कार्यक्रम ल्याएको उनको भनाइ छ ।

पोखरा महानगर न्यायिक समिति सदस्य पार्वती कार्कीले न्यायिक समितिको अधिकार क्षेत्र, न्यायिक समितिले हेर्न मिल्ने विवादका बारेमा र अधिवक्ता भुवन पराजुलीले देवानी र फौजदारी कानुनबारे सहजीकरण गरेका थिए । पोखरा ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य प्रभा पन्तले पनि बोलेकी थिइन् ।
पोखरा २७ मेलमिलाप केन्द्र
पोखरा २७ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले वडामा केन्द्र स्थापना गरेको हो । केन्द्र पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । गुरुङले मेलमिलापले पैसा, समय बचतसँगै समाजमा एकता कायम गर्ने बताइन् । उनले समाजलाई विवादरहित बनाउनसके उत्तम हुने र त्यस्तो हुन नसके विवाद मेलमिलापमार्फत समाधान गर्दा उत्तम हुने बताइन् ।

न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समितिको कार्यक्षेत्र, मेलमिलापकर्ताको भूमिका, आचारण र योग्यताका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रम वडाध्यक्ष पूर्णकुमार गुरुङको अध्यक्षतामा भएको थियो ।