गाउँ चिनाउने र पाहुना बोलाउने काइदा : घोडा दौड

कास्कीको पर्यटकीय गाउँ घान्दु्रकमा फागु् पूर्णिमाको अवसरमा तेस्रो संस्करणको घोडा दौड प्रतियोगिता हुने भएको छ ।

घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले आगामी २६ गते अन्नपूर्ण गाउँपालिका ११ मा विविध सांस्कृतिक कार्यक्रमसँगै घोडा दौड प्रतियोगिता आयोजना गरिने आइतबार घान्दु्रकमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

समिति अध्यक्ष राजबहादुर गुरुङले मौलिक संस्कृति तथा चाड संरक्षणसँगै पर्यटन प्रबद्र्धनमा सघाउ प¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘नेपाल सरकारको भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी देशभर कार्यक्रम भइरहेको छ,’ उनले भने, ‘घान्दु्रकबाट पनि पर्यटन प्रबद्र्धनको पक्षमा सन्देश जाओस् भन्ने हिसाबले घोडा दौड गरेका हौं ।’ उनले कोरोना भाइरसका कारण बाह्य पर्यटक आगमनमा सुस्ताएकाले यस्ता कार्यक्रमले पर्यटनलाई सघाउने विश्वास व्यक्त गरे ।

‘कोरोना भाइरसले गर्दा पाहुना नै आउन पाएका छैनन् । नेपाली पर्यटनको प्रबद्र्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने । प्रतियोगिता संयोजक तथा पर्यटन व्यवसायी विक्रम गुरुङले दौडबाट च्याम्पियन बन्नेले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित ५५ हजार प्राप्त गर्ने बताए । द्वितीय र तृतीय बन्नेले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश ३५ र २५ हजार हात पार्ने छन् ।

दौडमा हिबाल क्यु (न्युब्रिज) देखि सुरु भई खोलोभ्रो (घान्दु्रक बसपार्क) मा आएर निर्धारित ५.५ किलोमिटर दुरी पुरा गर्नुपर्ने छ । अन्नपूर्ण गाउँपालिकामा ८० भन्दा बढी घोडा रहेको बताउँदै उनले प्रतियोगितामा करिब ४० घोडाको सहभागिता रहने अनुमान गरे । गुरुङले दौडमा सहभागी हुनका लागि प्रत्येक घोडाको ३ हजार रुपैयाँ निर्धारण गरिएको बताए ।

दौडमा मुस्ताङ, म्याग्दी, घोरेपानी तथा पोखराबाट प्रतिस्पर्धी सहभागी हुने छन् । ‘१ पटकमा ८ वटा घोडा कुदाउँछौं,’ उनले भने, ‘बाटो साँघुरो छ पछि सबै सकिएपछि समयको आधारमा च्याम्पियन घोषणा गर्नेछौं ।’

फागु पूर्णिमाको दिनभर सञ्चालन हुने कार्यक्रममा स्थानीय कलाकारले तमु समुदायमा प्रचलित नृत्यसमेत प्रस्तु गरिने समिति सचिव हिमाल गुरुङले जानकारी दिए । खुला घैटो फुटाउने, आमा समूहका लागि मेच घुमाइ तथा १० वर्ष मुनिका बालबालिकालाई बेलुन फुटाउने प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यी प्रतियोगिताका विजेता तथा उपविजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । कार्यक्रम गर्नका लागि करिब ५ लाख लाग्ने अनुमान छ ।