जोमसोममा आगलागी पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

मुस्ताङ सदरमुकाम जोमसोमका आगलागी पीडित २ परिवारलाई आईतबार आर्थिक सहयोग गरिएको छ । साविक जोमसोम गाविस वडा नं. ८ का स्थानीयबासी तथा भाडामा बस्ने मानिसले पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।


साविक जोमसोम गाविस ८ का स्थानीय मिना शेरचन ,सृजना शेरचन ,कान्छी थकाली,प्रमिला थकाली ,ढोका पुन र जिना श्रेष्ठको सक्रियतामा आर्थिक सहयोग जुटाईएको हो । उनीहरुले आफ्नो वडाबाट ४६ हजार १ सय ५० रुपैया आर्थिक संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरेको स्थानीय मिना शेरचनले जानकारी दिईन् ।


साविक जोमसोम–८ का स्थानीय महिलाहरुले आगलागी पीडित सोममाया ल्वागुन र फुलमाया गोतामेलाई आईतबार साँझ उनीहरु बसेको ठाउमा पुगेर संयुक्त रुपमा आर्थिक सहयोग हस्तान्तरण गरेको सृजना शेरचनले बताईन् । राहत हस्तान्तरणमा प्रतिक्रिया ब्यक्त गर्दै स्थानीय प्रमिला थकालीले दुख र पीडामा परेका परिवारलाई मानवीय सहयोग गर्नु धर्म भएको बताईन् । उनले रकम सानो भएपनि पीडितलाई यसले सहानुभुती प्रदान गर्ने उल्लेख गरिन् ।


शनिबार राति जोमसोममा बिद्युत सट भई आगलागी हुदा स्थानीय मनोज गोतामेको घर जलेर नष्ट भएको थियो भने उक्त घरमा डेरा गरी बसेकी सोममाया बिकको फेन्सी पसल जलेर नष्ट भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आगलागीबाट करिव ९५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो ।