इरानका उपराष्ट्रपतिसहित उच्च अधिकारीलाई कोरोना संक्रमण

चीनको बुहानबाट शुरु भएको कोरोना ९कोभिड–१९० भाइरसको संक्रमण अहिले विश्वका धेरै देशहरुमा तीब्र रुपमा फैलिएको छ ।

इरानमा पनि नोवेल कोरोना भाइरसको संक्रमणले महामारी रुप लिने खतरा बढ्दै गएको छ । इरानमा उच्च सरकारी अधिकारीहरूलाई धमाधम कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । इरानी उपराष्ट्रपति मासोउमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको हो ।

उनी उच्च ओहोदामा रहेकी इरानी महिला पनि हुन् । हाल उनलाई घरमै क्वारेन्टाइनमा राखिएको इरानी सञ्चारमाध्यमले बताएका छन् । बुधबार भएको सरकारको बैठकमा उनी अरु उच्च अधिकारीसँगै सहभागी थिइन् । सो बैठकमा राष्ट्रपति हसन रुहानी पनि सहभागी थिए ।

उनी इरानका चार उपराष्ट्रपति मध्ये एक हुन् । उपराष्ट्रपतिसँगै अरु सात सरकारी अधिकारीमा पनि कोरोनाको संक्रमण भएको छ ।

इरानमा अहिलेसम्म कम्तिमा २४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै बिहीबारसम्म २६ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।