एक्यापको सक्रियतामा टिटी ताल सरसफाई

धार्मिक तथा जैविक महत्वको पर्यटकीय गन्तब्य टिटी तालको बिहिबार सरसफाई भएको छ । नेपाल भ्रमण बर्षको उपलक्ष्यमा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले फोहोर व्यवस्थापन गरेको हो ।


ताल सरसफाईमा डिभिजन बन ,स्याउ जोन ,जोमसोम नागरिक उड््यन ,नेपाली सेना ,बन उपभोक्ता समिति र स्थानीय लगायतको सहकार्य गरे । सरोकारवालाको करिव एक सय जना जनशक्तिले तालको चारैतिर फोहोर मैला व्यवस्थापन गरेको एक्याप जोमसोमले जनाएको छ । साथै एक्यापले टिटी तालमा २ वटा फोहोर संकलन गर्ने डस्मिन राखेको छ ।


सरसफाई कार्यक्रममा बोल्दै एक्याप प्रमुख तुलसी दाहालले जिल्लाको प्राकृतिक गहनाको रुपमा रहेको यसप्रकारका तालतलैयाको समय÷समयमा संरक्षण र विकास गरिनु पर्ने सुझाए । उनले जैविक महत्वको टिटी ताललाई प्रर्वद्धन गर्न सकेमा स्थानीयको जिवन स्तर माथि उकास्न सहयोग गर्ने उल्लेख गरे ।


पर्यटकीय ताल टिटी बायोलोजिकल दृष्टिले मुस्ताङको एकमात्र ताल भएको प्रष्ट्याए । साईबेरियन रुट हुदै विभिन्न प्रजातीका जैविक महत्व बोकेका चराहरु आउने गरेको एक्यापको अध्ययनले जनाएको छ । अध्ययनमा टिटी तालमा १ सय ८६ प्रजातीका चरा र ३ प्रजातीका हाँसले बासस्थान बनाएका छन् ।


साविकको अण्डा आकारको ताललाई स्थानीयले ड््याम निर्माण गरेर क्षेत्रफल बृद्धि गरेको स्थानीय बिनोद परियारले जानकारी दिए । तालमा बर्सेनि ५ सय बिदेशी पर्यटक आउने गरेको तर पर्यटक बस्ने होटलहरु कम भएको परियारले बताए । उनका अनुसार तालमा बर्सेनि एक पटक हंस बराहीको पुजाआजा गर्ने चलन रहेको छ ।

यहा सन्तान नभएकाले बर मागे प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।