नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकालले उम्मेद्वारी घोषणा गरेका छन्।
बुधबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरी ढकालले उम्मेदवारी घोषणा गरेका हुन् ।
आफू महासंघको गौरवलाई थप उचाइमा पुर्याउने तथा निजी क्षेत्रको महत्वलाई नीति निर्माणमा स्थापित गर्न तत्पर रहने उनले बताए ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ। यसैले आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ढकाल २०७९ चैतमा महासंघको अध्यक्ष स्वतः निर्वाचित हुनेछन्।
तीन वर्षअघिको निर्वाचनमा महासंघको एशोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित ढकालले वरिष्ठ उपाध्यक्षका देशभरका व्यवसायीहरुको समर्थन रहेको दाबी गरेका छन्।
महासंघलाई व्यावसायिक वातावरण निर्माण, साना तथा मझौला उद्योगलाई प्रबर्द्धन गर्ने पैरवी संस्थाका रुपमा अघि बढाउने उनले प्रतिबध्दता व्यक्त गरे।
बागलुङको अमलाचौरमा विं.सं. २०२२ मा जन्मिएका ढकालले कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका थिए।





