अल नेपाल होमियोप्याथिक एसोसिएशन गण्डकी अध्यक्षमा डा. विष्णु

अल नेपाल होमियोप्याथिक एसोसिएशन, गण्डकी प्रदेशको अध्यक्षमा डा. विष्णुप्रसाद चापागाइँ निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट डा. चापागाइँ अध्यक्षमा निर्वाचित भएका हुन् ।

पोखराको पञ्चम आयुर्वेद क्लिनिक र आरोग्यधाम होमियोप्याथिक अस्पतालका सञ्चालक चापागाइँ संस्थामा यसअघि उपाध्यक्ष थिए ।

अधिवेशनबाट उपाध्यक्षमा डा. दीलिप पाण्डे, सचिवमा डा. कृष्णप्रसाद पोख्रेल, सहसचिव चन्द्रा गुरुङ, कोषाध्यक्षमा टेकमाया गुरुङ निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा जयनारायण चापागाईं, रमेश चापागाईं, पृथ्वी गुरुङ चयन भए ।

यसअघि साधारणससभा उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका आयुर्वेद कन्सल्टेन्ट डा. बुद्धिप्रसाद पौडेलले आयुर्वेद चिकित्साप्रति नागरिकले अझै विश्वास गर्ने वातावरण नबनेको भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले होमियोप्याथिक सम्बन्धी व्यवसाय गर्ने व्यवसायीहरू पनि एकत्रित हुन नसकेको अवस्था हरेको बताए ।

उनले होमियोप्याथिक सम्बन्धी कानून बन्दै गरेको अवस्थामा उपयुक्त कानून बनाउनका लागि भए पनि सबै एकजुट र एकतित्र हुन आवश्यक रहेको स्पष्ट पारे । गण्डकी प्रदेशमा आयुर्वेद अस्पताल बन्नेक्रममा रहेको जानकारी दिंदै डा. पौडेलले उक्त अस्पतालको अस्तित्व स्वतन्त्र हुनुपर्ने खाँचो औंल्याए ।

एशोसिएशनका केन्द्रीय अध्यक्ष डा. कमलप्रसाद सुवेदीले देशभरका होमियोप्याथिक चिकित्सक र व्यवसायीलाई एकैठाउँमा गोलवन्द गर्न आफू प्रयासरत रहेको बताए । उनले होमियोप्याथिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गइरहेको भन्दै यसतर्फ सबै व्यवसायीको ध्यान जानुपर्नेमा जोड दिए ।

एशोसिएशका केन्द्रीय उपाध्यक्ष डा. अर्जुन ज्ञवालीले कुनै पनि चिकित्सा पद्धति पूर्ण नभए पनि एकअर्कामा परिपूरक रहेको बताए । २२४ वर्ष अघि जर्मनीबाट शुरु भएको होमियोप्याथिक उपचार पद्धति हाल ८० देशमा फैलिसकेको उनले जानकारी दिए ।

पूर्व अध्यक्ष विष्णुप्रसाद मिश्रले होमियोप्याथिक उपचार सम्बन्धी नीतिगत कुरामा आफूहरू कमजोर रहेको भन्दै प्रदेश सरकारले बनाउँदै गरेको कानून उपयुक्त खालको बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष डा. राजेन्द्र मानन्धरको अध्यक्षमामा भएको कार्यक्रममा गण्डकी प्रदेश संयोजक कृष्णप्रसाद तिमिल्सिना, केन्द्रीय सदस्य कृष्णप्रसाद पोखरेल, डा. खगेन्द्र कटुवाल, नेपाल औषधि तथा विक्री प्रतिनिधि संघका अध्यक्ष निरज पन्त, गण्डकी अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. कुमार काशुला, संस्थाका उपाध्यक्ष डा. विष्णुप्रसाद चापागाइँ, सचिव डा. दीलिप पाण्डे लगायतले बोलेका थिए ।