चीनपछि सबैभन्दा बढी कोरोनाभाइरसको जोखिममा रहेको दक्षिण कोरियामा संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ।
मंगलबार बिहानसम्म दक्षिण कोरियामा ८ सय ९३ जनामा कोरोनाको संक्रमण देखिएको थियो। त्यसबेला ८ जनाको मृत्यु भएको तथ्यांक थियो ।मंगलबार मध्यान्नसम्म भने कोरोनाबाट संक्रमितको संख्या बढेर ९७७ पुगेको र मृतकको संख्या बढेर १० पुगेको कोरियाली अधिकारीहरुलाई उदृत गर्दै सीएनएले जनाएको छ।
दक्षिण कोरियाको सिनचियोन्जी चर्चबाट कोरोनाको संक्रमण फैलिएको थियो। हालसम्म कोरियामा संक्रमितमध्ये ६० प्रतिशत सोही चर्चका सदस्य भएको बताइएको छ।
ग्योङस्याङ प्रान्तमा कोरोनाको संक्रमण बढ्दै गएपछि सोही प्रान्तको थेगु शहरमा रहेका चर्चका २ लाख १५ हजार सदस्यमा कोरोनाको संक्रमण परिक्षण हुने भएको छ।
कोरियाली सरकारको यस निर्णयलाई उक्त चर्चले स्वागत गरेको दक्षिणकोरियाली संचारमाध्यमले जनाएका छन्।
मंगलबार बिहानसम्मको विश्व तथ्यांकअनुसार हाल कोरोनाबाट संक्रमितको संख्या ८० हजारभन्दा बढी पुगेको छ। मृतकको संख्या २ हजार ६९८ पुगेको छ।




