पोखरा १४ मा मेलमिलाप केन्द्र

पोखरा महागनरपालिका वडा नम्वर १४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले वडामा केन्द्र स्थापना गरेको हो ।

केन्द्र पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले आइतबार उद्घाटन गरिन् । गुरुङले न्यायिक समिति नयाँ भएकाले सवै नागरिकले यसका बारेमा जानकारी राख्नुपर्नेमा जोड दिइन् । उनले देश संघीय ब्यवस्थामा गएपछि स्थानीय तहमा न्यायपालिकाको रुपमा न्यायिक समितिको ब्यवस्था संविधानले गरेको बताउदै सवै काम अदालती प्रक्रिया अनुसार हुने बताइन् ।

‘अदालती प्रक्रियामा समितिले काम गर्छ तर इजलासमा वकालत गर्न कुनै वकिल हुँदैनन्,’ उनले भनिन्, ‘विवादका दुवै पक्षले आआफनो कुरा राख्ने हो र विवाद दर्ता गर्दा लाग्ने एक सय रुपैयाँ बाहेक अरु कुनै पनि शुल्क लाग्दैन् । यसले सहज रुपमा विवाद समाधान हुने भएकाले नागरिकको आर्थिक र समयको बचत हुन्छ ।’

विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको उनले बताइन् । उनले मुद्दा मामिलाले समाजमा अशान्तिको वातावरण सृजना हुने भएकाले वडा तहका विवाद मेलमिलाप मार्फत समाधान गर्दा समाजमा सद्भाव कार्यम हुने उपप्रमुख गुरुङले बताइन् । उनले सवै प्रक्रिया पुरा गर्दा वडा तहमा मेलमिलाप केन्द्र स्थापनामा ढिलाई भएकोसमेत बताइन् ।

न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समिति गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराए । न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको छ ।

न्यायिक समिति सदस्य पार्वती कार्कीले मेलमिलापकर्ताले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइन् । पोखरा वडा नम्वर वडाका १४ अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता कालीदास शर्मा, नेपाली काँग्रेसका प्रतिनिधि बोधराज कार्की, महागनरका कानुन अधिकृत राममणि अधिकारी लगायतले कसैलाई भेदभाव नगरी सबैको साथ र सहयोग लिएर मेलमिलापकर्ताले काम गर्नुपर्नेमा जोड दिए ।