कोराेनाका कारण नेपाली कामदार कोरिया पठाउन रोक

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा समेत फैलिएपछि त्यहाँ नेपाली कामदार पठाउन सरकारले रोक लगाएको छ ।

नेपाली कामदार कोरिया पठाउने श्रम विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले भाइरसको संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदारको उडानसमेत रोकेको बताएको छ।

अघिल्लो साता करिब २ दर्जन नेपाली कामदार कोरिया लैजाने तालिका भए पनि उनीहरुको उडान रोकिएको थियो। आगामी फागुन १८ गते पठाउने कार्यसूची भएका कामदारलाई पनि पठाउन नसकिने अवस्था आएको शाखाका निर्देशक कृष्ण खनालले बताएका छन् ।

कोरियास्थित नेपाली दूतावासले उडान नगर्न आग्रह गरेपछि उडान रोकिएको र अब कोरियन दूतावाससँगको छलफलपछि कहिले उडाउने भन्ने टुंगो लाग्ने खनालले जानकारी दिएका छन् ।

रोजगार अनुमति प्रणालीमार्फत कामका लागि ४० हजार बढी युवा कोरियामा कार्यरत छन् । कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य संस्थाबाट जारी भएका सुरक्षा उपायहरु अबलम्बन गर्न दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ।