टायर पड्किएपछि ट्रक त्रिशुलीमा

सिमेन्ट बोकेको ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा खसेको छ ।

आइतबार बिहान करिब साढे ३ बजे शालिमार सिमेन्ट बोकेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा खसेको हो ।

ना ५ ख ३७७७ नंको ट्रक सडकबाट १ सय मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार दुर्घटनामा मकवानपुर घर भएका ४६ वर्षीय ट्रक चालक बिखे थोकर र सप्तरी घर भएका सहचालक १८ वर्षीय राजेश विक घाइते भएका थिए ।

दुवैलाई उपचारको लागि गजुरी अस्पताल लगिएकोमा थोकरको उपचारको क्रममा मृत्यु भएको थियो । विकको अवस्था सामान्य छ ।

सिमेन्ट बोकेको ट्रक वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।