शुक्रबारबाट पोखरामा मञ्चन हुने नाटक ‘यो कस्तो महाभारत’को मञ्चन तयारी पूरा भएको छ ।
दीपक पराजुलीले लेखेको नाटक फागुन २४ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ ।
पोखरा थिएटरको ११ औँ प्रस्तुतिको यो नाटक मंगलबारबाहेक हरेक साँझ ५ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजेसमेत हेर्न पाइनेछ ।
दर्शकको माग आएको खण्डमा अतिरिक्त सो मञ्चन समेत गर्ने तयारी रहेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटक पंच सुब्बा गुरुङको परिकल्पना तथा निर्देशनमा तयार हुँदै छ । गुरुङको यो डेब्यु निर्देशन हो । निर्देशक गुरुङले नाटक उत्कृष्ट बनेको बताए । ‘छोटो समयमा कलाकारले गरेको मेहनतका कारण नाटक राम्रो बनेको छ’ उनले भने ।
नाटकमा धृतराष्ट्र र अश्वत्थामाको भूमिकामा निश्चल विमल, सञ्जयको भूमिकामा रोशन ज्ञवाली, भीष्म पितामहको भूमिकामा रमेशबाबु तिमल्सिना, दुर्योधनको भूमिकामा नवराज गिरी, शकुनीको भूमिकामा विष्णु तिमल्सीना छन् ।
युधिष्ठिरको भुमिकामा राजेन्द्र अधिकारी, अजुर्नको भुमिकामा सरोज तिवारी, काशी नरेशको भुमिकामा सुमन तिमिल्सिना, नकुलको भूमिका उज्ज्वलराज ढकाल र सहदेवको भूमिकामा गौरव पौडेल, कर्णको भुमिकामा एम.डि. काफ्ले, सैनिकको भुमिकामा अन्जन रोका, प्रतिक घिमिरे र धनकाजी श्रेष्ठले अभिनय गर्ने छन् ।
एक घण्टा अवधिको नाटकले दर्शको मन जित्ने पोखरा थियटरले दाबी गरेको छ ।




