मुस्ताङमा जिल्ला स्तरीय पूर्ण खोप समन्वय समिति गठन

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले बिहिबार जिल्ला स्तरीय पूर्ण खोप समन्वय समिति गठन गरेको छ । सन् २०२० सम्ममा खोप मात्रा ९५ प्रतिशत पू¥याउने उद्देश्यले समिति गठन भएको निमित्त कार्यालय प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

निमित्त प्रमुख भण्डारीका अनुसार स्वास्थ मन्त्रालयको निर्देशिका अनुसार जिसस प्रमुखको अध्यक्षतामा विभिन्न सरोकारवालाहरुलाई समितिको सदस्यमा चयन गरिएको हो । जिल्ला स्तरीय समितिका सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी ,समन्वय अधिकारी ,स्थानीय तह ,जिल्ला अस्पतालका मेडिकल सुपरेटेन्डन, शिक्षा विकास तथा समन्वय ईकाई,रेडक्रस, पत्रकार महासंघ ,गैरसरकारी महासंघ र स्थानीय महिला वा आमा समुह लगायतका सरोकारवाला छन् ।

समितिले जिल्लामा हुने खोप सेवाको प्रभावकारिता,मुल्याङ्कन र नियमति अनुगमन गर्ने स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।यस्तै ,खोप अनुगमनका जिल्ला स्तरीय समिति गठनपछि पालिका स्तरीय समिति गठन हुने निमित्त प्रमुख भण्डारीले बताए ।

यसअघि स्वास्थ्य कार्यालयले सरकारले अभियान चलाएको दादुरा –रुबेला खोप संम्वन्धि निमित्त प्रमुख भण्डारीले स्लाईड प्रस्तुतीकरण गरेका थिए । उनले अभियान संञ्चालन चैत्र देखि सुरु हुने जानकारी दिए । ५ महिना देखि ९ महिनाका नवजात शिशुलाई दादुरा रोग र गर्भवती महिलालाई रुबेला रोगको संम्भावना बढी हुने भएकाले खोप अभियानलाई प्रभावकारी बनाउन आवश्यक भएको उनको भनाई थियो । दादुरा–रुबेला रोग भाईरसबाट उत्पन्न हुने र छिटो सर्ने सक्रमणकारी हुन्छ । यसको निरुपणमा हेलचक्र्याई भए महामारी समेत सृजना गर्दछ ।

दादुरा –रुबेला रोग लाग्दा नाकबाट पानी बग्ने ,खोकी लाग्ने र आखा रातो हुने आदी हुन्छ । दादुरा –रुबेला रोगको कुनै उपचार पद्धती नभएको यसको एकमात्र बिकल्प खोप भएको निमित्त प्रमुख भण्डारीले उल्लेख गरे । यस्ता बिरामीलाई भिटामिन ए खुवाउन सके राम्रो हुने उनको भनाई छ

कार्यक्रममा जिसस उपप्रमुख राजेन्द्र शेरचन,प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्याल र उपाध्यक्ष शर्मिला गुरुङ लगायतले दादुरा–रुबेला खोप अभियान सफल पार्न सरोकारवालाहरुको भुमिका महत्वपूर्ण हुने बताए ।