पर्वतको जलजला गाउँपालिका-२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलो फलामको खुकुरी निर्माण गरेका छन्।तीन महिनाको अवधिमा सुनार नेतृत्वमा चार जनाको समूहले हालसम्मकै सबैभन्दा ठूलो खुकुरी तयार गरेको हो।
८० किलोको कुखुरीको उचाई साढे १० फिट छ। ४ मंसिरदेखि खुकुुरी बनाउन शुरु गरी २९ माघमा सकेको सुनारले बताए।सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विक खुकुरी निर्माणमा खटिएका थिए। तीन महिना लगाएर निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा राखिएको छ।
सुनारले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन्। महोत्सवमा राखिएको खुकुरीलाई दर्शकले चासो र जिज्ञासाको साथ अवलोकन गर्ने गरेका छन् । महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ। खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ।
खुकुरी निर्माणमा भारतबाट फलाम मगाएर आफ्नै २ लाख खर्चमा चार जनालाई तीन महिनाको पारिश्रमिक मेत आफैँले जुटाएर खुकुरी बनाएको सुनारले बताए।आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको उनको भनाई छ।
आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन्।






