फागुन ७ गते २०७६

ताजा समाचार

फागुन ७ गते २०७६

गजल सन्ध्यामा ८ गजलकारका ४० गजल



गजल सन्ध्या पोखराको यस महिनाको नियमित गजल वाचन शृङ्खला विशेष किसिमले सञ्चालन गर्ने भएको छ ।

नियमित गजल वाचनको २०० औँ शृङ्खला पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । आगामी फागुन १० गते शनिबारका दिन आयोजना हुने कार्यक्रममा पोखराका चर्चित आठजना गजलकारहरूलाई एकसाथ उभ्याउने तयारी संस्थाले गरेको छ ।

‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि.सं. २०५९ सालमा पोखरामा स्थापना भएको संस्थाले यसपटक आफ्ना सम्पूर्ण पूर्वअध्यक्षहरूको संयुक्त गजल वाचन राख्ने तयारी गरेको हो । संस्थाको स्थापनाकालदेखि विभिन्न समयमा नेतृत्व प्रदान गरी संस्थालाई हालको अवस्थासम्म ल्याई पु¥याउन अहोरात्र खट्ने व्यक्तिहरूको सम्मानमा यस प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीले बताए ।

संस्थापक अध्यक्ष दिलीप दोषीका साथमा दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षत्री, उदीपराज ढुङ्गाना, विर्सना बस्नेत, अमृत सुवेदी गरी हालसम्मका आठैजना पूर्वअध्यक्षलाई एउटै मञ्चबाट सुन्न पाइने छ । कार्यक्रममा हरेकले पाँच पाँच थान गजल सुनाउने छन् । नेपाली गजलको उत्थानमा क्रियाशील संस्थाले नियमित गजल वाचनका अलावा विभिन्न विचार गोष्ठी, गजल प्रशिक्षण कार्यशाला, अन्तरक्रिया लगायत संयुक्त गजल सङ्ग्रह प्रकाशन लगायतका विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

संस्थाले हरेक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन र तेस्रो शनिबार नवनीत साहित्य सागरसँगको संयुक्त आयोजनामा ‘अक्षरयात्रा’ कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आइरहेको छ । यसका अलावा नेपाली गजलमा विशिष्ट योगदान दिने सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्य पनि संस्थाले गर्दै आएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहल (अमृत कक्ष) मा सञ्चालन हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संस्थाका सचिव त्रुपकले जानकारी दिएका छन् ।