फागुन ६ गते २०७६

ताजा समाचार

फागुन ६ गते २०७६

पोखरा २२ मा खुल्यो मेलमिलाप केन्द्र



पोखरा महागनरपालिका वडा नम्बर २२ मा मेलमिलाप केन्द्र स्थापना भएको छ ।

पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखराकी उपमेयर एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् ।

उपप्रमुख गुरुङले मेलमिलापले पैसा र समय बचतसँगै समाजमा एकता कायम हुने विश्वास व्यक्त गरिन् । उनले समाजलाई विवादरहित बनाउनसके उत्तम हुने र त्यस्तो हुन नसके मेलमिलापमार्फत् मिल्दा उत्तम हुने बताइन् । अदालती प्रक्रियामा जाँदा सधैं प्रतिशोधको भावना रही रहने बताउँदै उनले समाजमा शान्ति र सद्भाव कायम गराउन मेलमिलाप केन्द्रको अवधारणा ल्याएको बताइन् ।

समाजमा शान्ति, विकास र समृद्धिका लागि आपसी सहमति र एकता आवश्यक हुने बताइन् । पोखरा २२ का अध्यक्ष मित्रलाल बरालले वडा तहका विवाद समाधान गर्न सहज हुने बताए । न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समितिको कार्यक्षेत्र मेलमिलापकर्ताको भूमिका, आचरण र योग्यताबारे स्पष्ट पारे ।

कार्यक्रममा नेकपा पोखरा २२ का अध्यक्ष चण्डिका बराल, मेलमिलापकर्ता कमलप्रसाद बराल लगायतले मेलमिलापकर्ताले विवादका दुवै पक्षलाई जितैजितको अवस्थासहित समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

वडाध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगरका कानुन अधिकृत राममणि अधिकारीले गरेका थिए ।