फागुन ६ गते २०७६

ताजा समाचार

फागुन ६ गते २०७६

सुत्केरी र शिशुको मृत्युभएपछि रंगेली अस्पताल तनावग्रत



प्रसुति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली अस्पतालमा मंगलबार पनि तनावग्रत भएको छ ।

सोमबार बिहान रंगेली नगरपालिका – ९ की रवीना सरदारलाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे नर्मल डेलिभरीमार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन् ।२५ वर्षीया रवीना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि प्रदर्शन भएको हो ।

चिकित्सकको लापरबाहीले बच्चा जीवितै जन्मिएको भए पनि चिकित्सकले मृत जन्मिएको भनेर ढाँटिरहेको ,‘चिकित्सकले वास्तै नगरेका कारण जन्मिएको आधा घण्टामा शिशुको मृत्यु भएको दाबी गर्दै उनीहरुले मंगलबार पनि प्रदर्शन गरेका छन् ।

चिकित्सकका अनुसार रवीनाले मृत छोरालाई जन्म दिएकी थिइन् । छोरो जन्मिएपछि उच्च रक्तस्राव भएको थियो । रक्तस्राव नरोकिएर अवस्था गम्भीर बनेपछि बिहान ११ बजे विराटनगर रेफर गरेपछि रवीनालाई विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कोसी अस्पतालमा पनि उपचार सम्भव नभएपछि नोवेल शिक्षण अस्पताल पुर्‍याइयो । नोवेल पुर्‍याइएको केही बेरमै सुत्केरीलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतकका आफन्तले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका छन् । आन्दोलित बनेका आफन्तले मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग राखेका छन् ।