साहित्य शृंखला पोखराको शनिबार भएको अधिवेशनले लोकनाथ पुडासैनीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।
११ सदस्यीय कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश लक्ष्मी थापा, निर्मला न्यौपाने, काजी गाउँले र लक्ष्मण गौतम छन् । सदस्यमा ताराप्रसाद तिमिल्सिना, कल्पना चिलुवाल, विकास लुंगेली, लीला पण्डित, सुरज उपाध्याय र सन्तोष न्यौपाने छन् ।
कार्यक्रममा संस्थाको प्रकाशन आलोक शृंखला ७ को लोकार्पण एवं परिचर्चा पनि भयो । समालोचक भाष्करले साहित्यका नाममा परम्परालाई मात्र अनुसरण गर्नु अहिलेको प्रगतिशील साहित्यको मुख्य समस्या भएको औंल्याए ।
‘परम्परावादी सोच र चिन्तनबाट माथि उठ्न नसक्ने साहित्यले समाज रुपान्तरणमा योगदान गर्न सक्दैन,’ उनले भने । उनले बिना अध्ययन र साधना साहित्यको कुनै अर्थ नहुने बताए । प्रगतिशील साहित्यले मानिसमा सकारात्मक चिन्तन र ऊर्जा भर्नुपर्नेमा जोड दिए ।
लेखक रामराज रेग्मीले प्रगतिशील लेखक, साहित्यकारले आफ्नो राजनीतिक आस्थाबाट माथि उठेर देश र जनताको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिए । रेग्मीले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)मार्फत अमेरिकाले नेपालमा हस्तक्षेप बढाउने तयारी गरिरहेकोले यसका विरुद्धमा एकजुट हुने उनले आह्वान गरे ।
कार्यक्रममा संगम सास्कृतिक मञ्चका कलाकारले राष्ट्रिय भावका गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्राज्ञ सूर्य खड्का ‘बिखर्ची’ साहित्यकार नुमराज बराल, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली लगायतले बोलेका थिए ।




