पोखरा महानगरले बनायो योजना आयोग

देशकै ठूलो महानगर पोखराले सहरी योजना आयोग गठन गरेको छ । मेयर मानबहादुर जिसीको अध्यक्षतामा बनेको आयोगमा पोखरा ७ का रामचन्द्र लामिछाने, पोखरा ८ का बाबुराम भण्डारी, पोखरा ४ का सरोज कोइराला, पोखरा २६ की सोनी बराल सदस्य छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ अधिकारी सदस्य सचिव छन् । महानगरको शुक्रबार बसेको ३६ औं कार्यपालिका बैठकले आयोग गठनको हो ।

महानगरका प्रवक्ता धनबहादुर नेपालीले सोही बैठकले बैठकले वडास्तरीय योजनाको सम्झौता वडा सचिव÷इन्जिनियरबाट गर्ने र स्थानीय पूर्वाधार विकास साझेदारीतर्फका २५ लाख रुपैयाँसम्मका आयोजनाको सम्झौता वडास्तरबाटै गर्ने निर्णयसमेत गरेको बताए ।

वडा कार्यालयबाट प्रवाह गरिने सेवालाई सरल सक्षम र प्रभावकारी बनाई नागरिकलाई थप सन्तुष्टि अभिवृद्धि गर्न भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन सम्बन्धमा राय सुझाव सहित प्रतिवेदन पेस गर्न प्रमुख लेखा नियन्त्रक जयराम पौडेल, भरतराज पौडेल र इन्जिनियर शारदामोहन काफ्ले सदस्य रहेको अध्ययन समिति गठन गरेको छ ।

कार्यपालिका बैठकले आउँदो आर्थिक वर्षको बजेट तर्जुमा गर्न महाशाखागत बजेट प्रस्ताव गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको छ ।