चीनबाट ल्याइएका नेपालीलाई खरिपाटी पुर्‍याइयो

कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहानबाट उद्धार गरी आइतबार बिहान काठमाडौं ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटी पुर्‍याइएको छ।

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमा ल्याइएका १ सय ७५ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्नेबित्तिकै क्वारेन्टाइन व्यवस्था गरिएको ठाउँ खरिपाटी लगिएको हो।

अवतरणलगत्तै विमानमा दिइएको खानेकुरा उनीहरुलाई डिस्पोजल गर्न लगाइएको थियो। लगत्तै त्यही स्टन्डबाई राखिएका बसहरुमा उनीहरुलाई राख्दै खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र पुर्‍याइएको हो।

चिनियाँ समयअनुसार चीनको वुहानबाट शनिबार राति १२ बजे उडेका उनीहरु आइतबार बिहान ४ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

उनिहरुलाई विमानस्थलबाट ६ वटा बसमा खरिपाटी लगिएको थियो । एम्बुलेन्स, स्वास्थ्यकर्मीको टोली तथा एपीएफको गाडी पनि खरिपाटी पुगेका थिए।

त्यहाँ उनीहरुलाई त्यहाँ १४ दिनसम्म राखिनेछ। परिवारसँग भेट्न दिइने छैन।

कोरोना भाइरस संक्रमण छ छैन परीक्षण गरी स्वस्थ रहेको पाइएमा मात्र उनीहरूलाई १४ दिनपछि आफ्नो घर जान दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।