पोखरा म्याराथन जापानको पोल्टामा

१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगितामा जापानीज धावक प्रथम भएका छन् । जापानीज धावक ताकानाशी योशिकीले म्याराथनमा जीत हात पारेका हुन् ।

ताकानाशीले ४२.१९५ किलोमटिरको निर्धारित दूरीलाई २ घन्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै म्याराथन जितेका हुन् । जितसंगै उनले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

म्याराथनमा १३ औं साग खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता एपीएफका किरणसिंह बोगटी द्वित्तीय भए । उनले निर्धारित दूरी २ घन्टा २८ मिनेट ०८ सेकेन्डमा पूरा गरे । द्वित्तीय हुन सफल बोगटीले १ लाख नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी निर्धारित दूरी २ घन्टा २९ मिनेटमा पूरा गर्दै भारतीय सेनाका अनिश थापा मगर तेस्रो भए । उनले ७५ हजार नगद पुरस्कार प्राप्त गरे ।

भूतपूर्व खेलाडी मञ्च पोखराले आयोजना गरेको म्याराथनमा यसैगरी १० किलोमिटर पुरुष दौडमा स्याङ्जाका पूर्णबहादुर कार्की, महिला दौडमा धरानकी इन्द्रकला राई प्रथम भए भने ५ किलोमिटर छात्रतर्फ विनोद गुरुङ र छात्रातर्फ बिष्णु बिक प्रथम भएका छन् । तस्वीर : सुदर्शन रञ्जित