फागुन २ गते २०७६

ताजा समाचार

फागुन २ गते २०७६

दिलिपको हत्यामा संलग्न ३ जेल चलान



अवैध उत्खननको विरोध गर्दा ज्यान गुमाएका दिलिप भनिने ओमप्रकाश महतोको हत्यामा संलग्न ६ जना आरोपीमध्ये ३ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । तीन जना भने २५–२५ हजार धरौटीमा रिहा भएका छन् ।

धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले हत्यामा संलग्न टिपर चालक मुनिन्द्र महतो, लोडर रञ्जित भनिने जितेन्द्रकुमार महतो र क्रसर सञ्चालक विपिनकुमार महतोलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको हो ।

मिथिला नगरपालिकामा टिपरले किचेर हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका थिए ।अन्य अभियुक्त दिलीपका साथी रोशनकुमार यादव, सह–अभियुक्त मजदुर जितेन्द्र भनिने सत्यनारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई २५–२५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतको आदेशउपर चित नबुझेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले सरकारी वकिलमार्फत उच्च अदालत जाने जनाएको छ ।