पोखराको सिद्धार्थचोकस्थित सिद्धार्थ क्लबले रक्तदान कार्यक्रम आयोजना गर्यो । बिहीबार मानव अधिकारचोकमा आयोजित कार्यक्रममा ९२ युनिट रगत संकलन भएको थियो ।
समाजसेवी भवानी माकाजूलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सिद्धार्थ क्लबले सामाजिक क्षेत्रमा खेलेको भूमिका सराहनीय भएको बताए ।
उनले रक्तदान कार्यक्रमले जनमानसमा रक्तदान गर्न प्रोत्साहन गर्नुका साथै समाजमा आवश्यक रगत परिपूर्ति गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

क्लवकी अध्यक्ष पार्वती माकाजूले सिद्धार्थ क्लबको गतिविधिमाथि प्रकाश पार्दै रगत अभावका कारण हुन सक्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन् ।
उनले क्लबले स्थापना देखिनै नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको र आवश्यक पर्दा आकस्मिक रक्तदान समेत आयोजना गर्ने गरेको जानकारी दिइन् ।
कार्यक्रममा कार्यक्रम संयोजक प्रमोद नारायण श्रेष्ठले स्वागत, सचिव ईन्दिरा मर्सानी श्रेष्ठ र पूर्व अध्यक्ष रवि मर्सानीले कार्यक्रम सञ्चालन गरेका थिए ।
क्षेत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सिद्धार्थ टोल विकास संस्था, बगालेटोल सामुदायिक विकास केन्द्र र ट्रेडमल दिदीबहिनी समूहले सहयोग गरेको थियो ।











