सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा थापाको अग्रता

पहिलो दिन लेभल पार खेल्दै गतिलो शुरुवात गरेका धनबहादुर थापा बिहीबार ३६ होल टुंगिदा २ अण्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन् । नेपाल आर्मी गल्फ क्लबका खेलाडी थापाले शिवराममाथि चार स्ट्रोकको अग्रता बनाएका छन् ।

अन्तिम दिनको प्रतिस्पर्धा बाँकी छ । उनले दोस्रो दिन २ अण्डर(६७)को स्कोर कार्ड बनाउँदै अग्रता लिएका हुन् । सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुरको दोस्रो दिन पोखराको हिमालयन गल्फ कोर्षमा थापाले २ अण्डरको ६७ कार्ड बनाए । उनले ३ र ८ औं होलमा बर्डी हिर्काउँदै फ्रन्ट नाईन दुई अण्डरको स्थितिबाट अगाडि बढे । व्याक नाईन भने लेभल पारमा टुग्याए ।

१२ औं होलमा बोगी खेप्न पुग्दा १५ औं होलमा त्यसको क्षतिपूर्ति गरे । १७ औं मा बर्डी हिर्काउँदै स्ट्रोक जोगाउने लय देखाए पनि अन्तिम होलमा भने बोगीको सामना गरे । १८ औं होलमा बल बंकरमा खसेपछि समस्या हुन पुग्यो । ‘ढिस्कोलाई आधार मानेर हिर्काउँदा ढिस्कोमै ठोकिएर बल बंकरमा झर्यो । ढिस्को पार गरेको अवस्थामा ओबी हुन्थ्यो । झन समस्या आउँथ्यो’ उनले भने–‘बंकरबाट हल्का चिप गरें । ग्रिनबाट सहज पट गर्दै थप स्ट्रोक हान्नबाट जोगाँए ।’

दोस्रो दिन खराब लयमा देखिएका शिवराम श्रेष्ठ भने दोस्रो स्थानमा झरेका छन् । उनले बिहीबार ३ ओभर खेल्न पुग्दा समग्रमा २ ओभर १४० को स्थितिमा रहे । उनको फ्रन्ट नाईन खराब रह्यो । तीन ओभर ३७ को स्थितिबाट व्याक नाईन शुरु गरेक शिवरामले १ अण्डर खेल्दै ३६ होल पुरा गर्दा १ ओभर १३९ मा छन् । उनले अघिल्लो दिन एक अण्डरसँगै अग्रता लिएका थिए । उनले फ्रन्ट नाईन अन्तर्गत ७, ८ र ९ औं होलमा बोगी खेपे । व्याक नाईनमा १०, १५ र १६ होलमा बर्डी हिर्काउँदै लेभल पारको संघारमा रहे पनि १२ औंमा बोगी खेप्दा केवल एक अण्डरमा झर्न पुगे ।

शुक्र राईले शिवरामसँग टाई खेलेका छन् । पहिलो दिन १ ओभर ७० मा टुग्याएका राईले दोस्रो दिन पनि १ ओभर ७० को कार्ड बनाउँदै लयलाई निरन्तरता दिए । पार फाईभको दशौं होलमा उनले ९ स्ट्रोक हिर्काउँदै तनाव झेल्न पुगे । १३, १४ १५ औं होलमा बर्डी हिर्काउँदै खेलमा फर्किएका थिए । यद्यपी व्याक नाईन एक ओभर ३६ मा टुग्याउँदा उनको फ्रन्ट नाईनमा हानेको दुई अण्डरले उत्साह जगाईराख्यो । शिवराम र शुक्रसँगै जयराम श्रेष्ठले पनि दोस्रो दिनको खेल टुग्याउँदा २ ओभर १४० को कार्डमा छन् ।

अघिल्लो दिन तीन ओभर ७२ को कार्डबाट शुरु गरेक उनले दोस्रो दिन भने सुधारिएको प्रदर्शन गरे । फ्रन्ट नाईन लेभल पार खेल्दै उत्कृष्ठ शुरुवात गर्दा व्याक नाईन भने अझ प्रभावशाली प्रदर्र्शन गरे । व्याक नाईनमा उनले १ अण्डर खेल्दै समग्रमा दुई ओभर १४० को कार्डमा रहे । उनले ११ औंमा बोगी खेप्दा १५ र १७ औं होलमा बर्डी हिर्काएका थिए । पाँचौं स्थानमा निरज तामाङ छन् । दोस्रो दिन २ ओभर ७१ को कार्ड खेले । तामाङले दोस्रो दिन ३६ होलको खेल टुग्याउँदा ३ ओभर १४१ को स्कोरमा छन् । उनले बिहीबार फ्रन्ट र व्याक नाईन दुवैमा एक–एक ओभर खेल्दै टुग्याएका थिए । पहिलो दिन उनी एक ओभर ७० को कार्डमा थिए ।

भुवन नगरकोटी, भुवनकुमार रोका र सन्जय लामा समान ४ ओभरसहित टाईमा छन् । समान २ ओभर ७१ को स्कोर बनाउँदै पहिलो दिनको १८ होलबाट विश्राम लिएका उनीहरुले दोस्रो दिन बिहीबार २ ओभर ७१ को कार्डमै खेल्दै टाईमा छन् । रोकाले फ्रन्ट नाईनलाई १ ओभर ३५ मा टुग्याउँदा व्याक नाईन गतिलो शुरुवात गरेपनि १८ औं होलमा डबल बोगी खेपेपछि उनको स्कोर १ अण्डर ३४ मा रहदै दोस्रो दिन लेभलपार खेलेका थिए ।

नगरकोटीले पनि व्याक नाईन लेभल पार खेल्दै स्ट्रोक जोगाए । तर फ्रन्ट नाईन भने सम्झन लायक बनाउन सकेनन् । चौथो होलमा बोगी खेप्दै अगाडि बढेका नगरकोटीले ९ औं होलमा पनि बोगीमै टुग्याए । १४ औंमा बर्डी हिर्काउँदै स्ट्रोक बचाउन ध्येयमा देखिए पनि १५ औंमा भने डबल बोगी खेप्न पुगे । १७ औंमा बर्डी खेल्दै सुधार गरेर ३५ को कार्ड बनाए । पहिलो दिन दुई ओभर र दोस्रो दिनको दुई ओभरसँगै ४ ओभर १४२ स्कोरको कार्डमा छन् । रवि खड्का ६ ओभर १४४ कार्डसहित नवौं स्थानमा छन् । खड्काले ९ औं र १४ औं होलमा डबल बोगी खेपेपछि दोस्रो दिन खराब नजितासँगै नवौं स्थानमा पुग्दै कट जोगएका हुन् । रामकृष्ण श्रेष्ठ ७ ओभरसहित १४५ को कार्डमा रहँदै दशौं स्थानमा छन् ।

एमेच्यौरतर्फ जितेन्द्र राई १३ ओभर १५१ को कार्डसहित शीर्ष स्थानमा यथावत छन् । दोस्रो स्थानमा भने प्रज्वल गुरुङ छन् । उनले १५ ओभर १५३ को कार्डमा खेलिरहेका छन् । दोस्रो दिनको खेल टुंगिदाँ २४ जना प्रो कट जोगाउँदै उपाधि यात्रामा छन् । १६ जना एमेच्योरमध्ये केवल ६ जनामात्रै कट जोगाउँदै उपाधिमा छन् । आज शुक्रबार फाईनल प्रतिस्पर्धा हुनेछ । शनिबार प्रो–एम प्रतिस्पर्धा हुने हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए ।

kheladinews.com